माघ १ देखि खुलामञ्चमा पार्किङ गर्न नपाइने

काठमाडौं महानगरपालिकाले माघ १ गते (बुधबार) देखि खुलामञ्चमा पार्किङ गर्न नदिने भएको छ।

महानगरपालिकाले गत शनिबार भएको अकुपाईं टुँडिखेलको कार्यक्रम अन्तर्गत अभियान्ताहरूको सहकार्यमा खुलामञ्चमा सूचना टाँस गरी पार्किङ गर्न नदिने निर्णय गरेको हो।

‘आउँदो माघ १ गतेदेखि यस ऐतिहासिक खुलामञ्चको गरिमालाई कायम राख्न पार्किङ निषेध गरिने सम्पूर्णमा सूचित गर्न चाहन्छौं,’ काठमाडौं महानगर वडा २८ ले जारी गरेको सूचनामा उल्लेख छ। खुलामञ्चमा पार्किङ गरेर अस्तव्यस्त भएको र खुला स्थान नभएको भन्दै अकुपाईं टुँडिखेलका अभियन्ताहरूले त्यहाँ पार्किङ गर्न नदिन महानगरपालिकालाई पटक/पटक पत्राचार गर्दै आएका थिए।

त्यहाँ सर्वसाधारणदेखि सरकारी कर्मचारीले समेत नि:शुल्क पार्किङ गर्दै आएका छन्।

‘वीर अस्पतालको, हाइस्कुल, सर्वसाधारणले पनि त्यही राख्ने गरेका थिए,’ वडा २८ का वडाध्यक्ष भाइराम खड्गीले भने,’बालबच्चाहरूको लागि खेल्ने स्थान नभएपछि त्यहाँ खुला गरिदिए वातावरण बन्ने हिसाबले पार्किङ निषेध गरेका हौं।’ खुलामञ्चको सट्टा वैकल्पिक पार्किङको लागि भने हाललाई निर्णय नगरेको उनले बताए।

‘तर आउँदो दिनमा छलफल गरेर बनाउन सकिन्छ’,उनले भने। खड्गीले कारबाहीको लागि वडा कार्यालयमा थप बैठक बसेर निर्णय गर्ने समेत जानकारी दिए।