ठूलो सुटकेश गुडाएर नेपाल फर्केको देखेपछि..

काठमाडौं । विदेश जाने कारण हाम्रो समाजमा एउटा मात्र छैन । धेरै युवाहरु देशमा रोजगारीको अवसर नदेखेर विदेश गइरहेका छन् भने केही युवा राम्रो कमाई हुने आशामा विदेश गइरहेका भेटिन्छन् । गाउँघरमा अरुले सुटकेश बोकेर आएको देखेर विदेशिनेहरुको सङ्ख्या पनि दिनहु बढीरहेको छ । तर, विदेशमा उनीहरुले के काम गरेर फर्किए, विदेशमा कस्तो दुःख छ भनेर सोच्नेहरु धेरै छैनन् भन्दा अतियुक्त नहोला ।

अरुले ठूलो सुटकेश गुडाएर नेपाल फर्केको देखिन्छ । कालो चस्मा अनि कम्मरमा ‘मनि ब्याग’ झुन्डाएर आएको देखिन्छ । विदेशको काम, त्यहाँ हुने कमाई के हो भन्नेतिर कसैको आँखा गएको देखिदैन । विदेशबाट फर्किएकाहरुलाई हेरेर र देखेर विदेश जान पाए त यस्तै भइन्थ्यो भन्ने सोच भएकाहरु धेरै भेटिन्छन् ।

हामी गाँउ घरका प्रत्येक घर घरबाट अरब पुगेका युवाहरु पाउन सक्छौं । युरोप र अमेरिकाको सपना देख्नेहरु पनि नभएका होइनन् तर औंलामा गन्न सकिने मात्र छन् । राम्रो पढाई र कमाई हुने भन्दै अष्टेलिया र जापान पुग्नेहरु पनि छन् । तर, खाडीका देशहरुको जस्तो गुनासो सुनिदैन् । खाडीका देश जानेहरुका परिवारको गुनासो भनेको काम र कमाई नभएको भन्ने हुन्छ । जसले गर्दा विदेश जाँदा लिएको ऋण तिर्न नसकेर समस्या भइरहेको गुनासो सुन्न सकिन्छ ।

सरकारले फ्रि भिसा, फ्रि टिकट भनेको पनि धेरै भइसक्यो तर नेपालको कानुन कसले जानुन भन्ने सरह भएको छ । नेपालमा म्यानपावर संचालकहरुले एक लाख रुपैयाँ भन्दा धेरै पैसा लिएर १० हजारको मात्रै बिल दिएर ठगेको समेत पाइन्छ । त्यसैले आँखा चिम्लेर र अरुले ठूलो सुट्केश बोकेर फर्किएको देखेर मात्रै विदेश जानु उपयुक्त हुँदैन ।

विदेश जानेहरुले घरमा राम्रोसँग सल्लाह गरि आफैंलाई अप्ठ्यारो पर्छ कि भनेर सोच्नु पनि अति आवश्यक छ । एजेण्टले भनेका कुरा पत्याएर उनीहरुको पछि लाग्दा समस्या हुन सक्छ । त्यसैले विदेश जानेहरुले यसमा ध्यान दिनु जरुरी छ । जानु अघि जाने देशका बारेमा बुझेर केही न केही काम सिकेर जानुपर्छ ।

हुन त विदेश जानु भन्दा आफ्नै देशमा काम गर्नु राम्रो हो । तर, यसो भनि रहँदा रोजगार खै त भन्ने प्रश्न आउँछ । तर, पनि विदेश जानु अघि कसरी सुरक्षित हुन सकिन्छ भनेर सोच्नु जरुरी छ । सिप सिकेर, दक्ष भएर आफू जाने देशका बारेमा राम्रोसँग बुझेर जाँदा केहि हदसम्म जोखिमबाट बच्न सकिन्छ ।

सरकारले शिक्षित युवालाई उनीहरुको पढाइ अनुसार रोजगारी दिलाउन पहल गरोस । शिक्षाको स्तर कम भएका युवालाई सिप सिकाएर स्वरोजगार बनाओस् र उनीहरुले आफ्नो श्रम र पसिना अर्काको देशमा बगाउनु नपरोस् भनेर हामी कामना गरौं ।

Add a Comment

Your email address will not be published. Required fields are marked *