बर्दीमा दाग लगाउने कोशिस गर्नेमाथि निर्मम कारवाही हुन्छ : महानिरीक्षक क्षेत्री

नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार असार २५ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका शैलेश थापा क्षेत्री दज्र्यानी चिन्हबाट सुशोभित भएका छन् । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिन्हबाट सुशोभित गरेका हुन् ।

उक्त अवसरमा बोल्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यावसायिक निष्ठाका साथ राष्ट्रसेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, प्रधानमन्त्री तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञतातथा आभार व्यक्त गरे ।

संविधान, ऐन र नियमले निर्दिष्ट गरेको सिमाभित्र रहेर नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा सिंगो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्म निस्वार्थरुपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उत्रने इमानदार प्रयास गर्ने बताए । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन, प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ, यसको निम्ति उचित निर्देशन भरपर्दो सहयोगी र स्वस्थ्य आलोचनाको आवश्यकता हुन्छ । मेरो सफलता वा असफलता भनेको यिनै कुराहरुको समायोजन कसरी गर्ने भन्नेमा निर्भर गर्छ भन्ने लाग्छ र म मेरोपुरा तागत यसमा लगाउने वाचा गर्दछु ।’

‘हामी कानुन कार्यान्वयन गर्ने निकाय हौँ, कानुन उल्लङ्घन गर्ने निकायको रुपमा रुपान्तरण हुन कुनै पनि हालतमा हुँदैन, कसैले पनि बर्दीमा दाग लगाउने कोशिस गर्छ भने उसमाथि निर्मम रुपमा कारवाही प्रक्रिया अगाडि बढाइनेछ,’ प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने । आगामी दिनहरुमा प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने प्रतिबद्धता व्यक्ति गरे ।

कार्यक्रममा गृहमन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ कर्मचारी एवम् सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बिहीबारै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन् । प्रहरी महानिरीक्षक थापा क्षेत्री प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा. आशा सिंह र हरिबहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधानकार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाइ अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै प्रहरी प्रधानकार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।

विसं २०२५ मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका–५ मा जन्मिएका प्रहरी महानिरीक्षक थापा क्षेत्री २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका थिउ । प्रहरी महानिरीक्षक थापा क्षेत्री२ ०५८ फागुन १०गते प्रहरी नायव उपरीक्षक, २०६७ पुस २० गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक,२०७६ चैत ९ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कमाण्ड र स्टाफ कोर्ष, लिडरसिप एण्ड म्यानेजमेन्ट ट्रेनिङ प्रोग्राम लगायत विभिन्न १७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका थिए । प्रहरी महानिरीक्षक थापा क्षेत्री दुर्गम सेवा पदक,दैवीप्रकोप पिडीतोद्वार पदक, गद्दी आरोहण रजत पदक, प्रसिद्ध सेवा पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथोलगायतका विभूषणबाट विभूषित हुन छन् । यसैगरी उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा दर्जनौंनगद पुरस्कारप्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्र एवम् कदरपत्रद्वारा सम्मानित भएका छन् ।