यार्सागुम्बा : कसरी खाने, के–के छन् फाइदा !

यार्सागुम्बा नेपालको बहुमूल्य जडिबुटी हो। यो हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको वस्तु हो। यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रित भएका हुन्छन्। यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ। त्यसरी हेर्दा बनस्पति जीवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ।

यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन्, त्यस समयसम्म झुसिल्किरा हिडडुल गरिरहेकै हुन्छ। यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ। झुसिल्किरा जमिनमा मरिसकेपछि बनस्पतिले आफ्नो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात् माटोमाथि जीवित रहन्छ, माटोमूनि मर्छ।

माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ। यसको रङ्ग कालो हुन्छ, जसको टुप्पोमा स–साना प्वालहरू हुन्छन्। ती प्वालभित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन्।

कहाँ–कहाँ पाइन्छ यार्सागुम्बा ?

यो विशेष गरेर उत्तरी क्षेत्रमा वर्षभरि पाउन सकिन्छ। विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ। तीमध्ये जापानमा ३० वटा, ब्रिटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइन्छ। नेपालको सन्दर्भमा भने यकिन गरेर भन्न नसकिने बनस्पतिविज्ञहरू बताउँछन्। तर, पनि उनीहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन्।

कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ। त्यस्तै कोर्डिसेप्स मिलिटरिस जातको यार्सागुम्बा भक्तपुरको सूर्यविनायकमा पाइन्छ भने कोर्डिसेप्स नुटन्स शिवपुरी नागार्जुनको जंगल, गोकर्ण मनाङमा पाइन्छ।

हिमाली भेगमा लामाहरू यार्सागुम्बा धर्मात्मा मानिसहरूले मात्र भेट्छन्, भनिन्छ। कतिपय लेकबाट औषधि बेच्न आएका मानिसहरूले यासार्गुम्बा भनेर झुक्याएर औषधि बेच्ने गरेको पनि पाइन्छ। वास्तवमा यार्सागुम्बा च्याउजस्तै भेटिने वस्तु हो। तर, पहिला एउटा भेट्न चाहिँ निकै समस्या पर्छ। एउटा भेटिएपछि अरु सजिलै पाउन सकिन्छ। अरु, यार्सागुम्बाहरू आपसमा वरपर रहने हुनाले सजिलै पाउन सकिन्छ। यार्सागुम्बा भेटाउन धर्मात्मा र पापी भन्ने कुरा चाहिँ सरासर गलत हो।

नेपालमा खोजी कसरी भयो ?

यार्सागुम्बाको अस्तित्व पौराणिककालदेखि नै नेपालमा रहँदै आएको पाइन्छ। यसको उपयोग हिमाली भेगका शेर्पाहरूले गर्दै आएका थिए। विभिन्न जडीबुटीका रुपमा प्रयोग भइरहेको यार्सागुम्बा पहिलोपटक खोजी गरेर प्रकाशमा ल्याइएको भने त्यति धेरै भएको छैन। यार्सागुम्बाको पहिलो पटक संकलन गर्ने श्रेय सन् १९५२ मा ब्रिटिस म्युजियम लण्डनको तर्फबाट बनस्पति संकलन गर्न आएका पोलुनिन साइकल र विलियमलाई जान्छ।

के–के छन् उपयोगिता ?

संसारमा पाइने १०० भन्दा बढी प्रजातिका यार्सागुम्बाहरू दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिँदैनन्। नेपालमैं पाइने ३ प्रकारका यार्सागुम्बाहरू पनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन्। बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बामध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ। यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो।

संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिन्छ। यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवद्र्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ। तर, यसलाई औषधिको रुपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन।

आयुर्वेदका अनुसार यसबाहेक अन्य औषधिमा पनि यार्सागुम्बाको प्रयोग गरिन्छ। यार्सागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ।

कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन्। यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ। यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्दछ भन्ने विश्वास गर्दछन्।

कतिपयको भनाइमा भने तीन वटा यार्सागुम्बालाई उमालेको दूध वा महसँग खाएमा यौन उत्तेजकको काम गर्ने गर्छ भन्न विश्वास छ। वैज्ञानिक तथा वनस्पति विज्ञहरूको भनाइअनुसार १३ वटा अन्य जडीबुटीसँग यार्सागुम्बालाई मिसाएर लगातार ३ वर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने गर्दछ। त्यसैले यार्सागुम्बाबाट बनाइएका टनिकहरू चीनमा खुल्ला रुपमा बिक्री गरिन्छ।

हिमाली भेगबाट औषधि ल्याएर बिक्री गर्ने लामा भोटेहरू यसको उपयोग कामोत्तेजकका लागि तथा स्मरण शक्ति बढाउनका लागि उपयोग गरिने बताउँछन्। उनीहरूका अनुसार ३ तोला यार्सागुम्बा, २ केजी सेतो चामल, ५ तोला पाँचऔंले र एक लिटर दूधलाई हिमालको चोखो पानीमा पकाएर तीन दिन दिनको ३–३ चम्चा बिहान बेलुका खाएमा यौन शक्ति बढ्ने बताउछन्।

जडीबुटीयार्सागुम्बाहेल्थ टिप्स्

Add a Comment

Your email address will not be published. Required fields are marked *