भारतमा चौथो कोरोनाभाइरस संक्रमित बिरामीको मृत्यु

भारतमा चौथो कोरोनाभाइरस संक्रमित बिरामीको मृत्यु भएको छ।

पन्जावका ७० वर्षीय वृद्ध इटालीबाट जर्मनी हुँदै मार्च ७ मा भारत पुगेका थिए। उनी मधुमेहकासमेत बिरामी रहेका र उनमा कोरोनाको संक्रमण रहेको हिजो मात्रै पुष्टि भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

बिहीबार साँझ भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोनाभाइरस संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक सय ६७ पुगेको छ।

पशुपतिनाथमा २५–२५ जनाको संख्यामा दर्शनको व्यवस्था मिलाउन निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ दर्शन गर्न २५–२५ जनाको दरले मात्रै जान पाउने व्यवस्था गर्न निर्देशन दिएका छन्।

पशुपति क्षेत्र विकास कोषलाई दर्शनका लागि २५–२५ जनाको दरले जाने र एकअर्कासँग कम्तीमा १ मिटरको दुरीमा रहने व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए।

बहु धार्मिक, बहु भाषिक मुलुक भएकाले सबै धर्मावलम्बीले संयमता अपनाई आफ्ना कार्यक्रमहरुमाथि पुर्नविचार गर्नुपर्नेमा मन्त्री भट्टराईले जोड दिए।

बुद्ध धर्मावलम्बीहरुको सामूहिक प्रार्थना हुने कार्यक्रम, शुक्रबार मुस्लिम धर्मावलम्बीहरुको नवाज अदाह गर्ने र क्रिश्चियन धर्मावलम्बीहरुको विशेष प्रार्थना गर्ने दिनका कार्यक्रममा पुर्नविचार गर्न मन्त्री भट्टराईले आग्रह गरे

सरकारले कुनैपनि सार्वजनिक सभा समारोह, ठूला भेलाहरु, जात्रा, महोत्सव, र भोजभतेर नगर्नु भन्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उनले बताए।

उनले भने ‘अहिलेको परिस्थिति सामान्य परिस्थिति होइन। कुन ठाउँबाट कोरोना भाइरस बाहिर निस्किन्छ, कुन ठाउँबाट निस्किदैन भन्ने कुरा कसैले भन्न सक्दैन। त्यसकारण कुनैपनि धार्मिक समुदायले आफ्ना नियमित कृयाकलापमा समेत पुर्नविचार गर्नुपर्‍यो। पूर्ण सावधानी अपनाउन पर्‍यो’