खाडीमा नेपाली कामदार : यसरी हेपिन्छन्, यसरी पेलिन्छन्

काठमाडौं । शनिबारको दिन थियो फुर्सदमा बसिरहेको थिए । गाउँका एकजना साथीले मलेसियाबाट फोन गर्यो । मैले रिसिभ पनि गरे । के छ यार, सन्चै छौ, मधुरो स्वरमा उताबाट आवाज आयो । अँ ठिकै छु । तिम्रो के छ कमाई कस्तो हुँदै छ भन्दै एकै पटक प्रश्नको बर्षा गरि हाले । साथीको बोली झन् मधुरो भयो । बिजोग छ यार । बेकारमा आएछु । कमाईको कुरा छाडिदिउँ । जतिसक्दो छिटो नेपाल आउँदैछु । रौतहटका राजन (नाम परिवर्तन) बैदेशिक रोजगारीको शिलशिलामा १ वर्ष अघि मलेसिया गएका थिए । प्रमाण पत्र तह सम्म औपचारिक अध्ययन गरेका राजनसँग गाउँघरमा हुने खेतीपाती गरेको भन्दा अन्य कामको अनुभव छैन । मासिक ४० हजार रुपयाँ कमाउँछु भन्दै मेनपावर संगको समझदारीमा मलेसिया गएका थिए राजन । मेनपावरले भनेको जस्तो काम नपाइएपछि उनी दुखको भुमरीमा फसे । “नजिकै आएर लात्ताले हानेपछि मात्र झसङग हुन्छु यार, म त नरकिय जिवन जिउँदै छु ।’’ उनले आफ्नो दुखेसो पोखे ।

त्यस्तै, जुडबेलाका रामबहादुर (नाम परिर्वतन) को पिडा पनि उस्तै छ । मासिक ५० हजारमा सम्झौता भएर मलेसिया पुगेका उनी अहिले कम्पनी नै सम्पर्कमा नरहेपछि समस्यामा छन् । न सहजै नेपाल फर्कन सकिन्छ । न कामको नै निरन्तरता । पासपोर्ट पनि कम्पनीसंगै कहाँ पुग्यो थाहा छैन । यि त उदाहरण मात्रै हुन् । स्वदेशमा अवसर नपाएको भन्दै बिदेश जानेको सङ्ख्यामा बृद्धि हुने क्रम रोकिएको छैन । कम समयमा धेरै कमाई हुने र विलासिताका सामानहरुको आकर्षणका कारण पनि युवा जमात बत्तिमा पुतली होमिएझै विदेश होमिरहेका छन् । बैदेशिक रोजगारीको सिलसिलामा नेपालीहरु बिभिन्न पेशामा कार्यरत छन । अधिकांस नेपालीहरु बिदेशमा तल्लो स्तरमा काम गर्न बाध्य छन् । अधिकांस नेपालीहरु पैसाकै लागी जस्तोसुकै काम गर्न बाध्य हुन्छन् वा गरिरहेका छन् । बिदेशमा भोग्नुपरेको पिडा र बाध्यता सहन नसकेर धेरैले अनेकथरी सपनालाई बिर्सनुपरेको छ । पैसा कमाएर घर परिवारलाई हेर्ने र जिवनस्तर उकास्ने सपना बोकेर गएकाहरु लासको रुपमा बाकसमा र्फिता भएका धेरै छन् । अर्कोतिर अनुभव र योग्यताको अभावका कारण युवाहरु विदेशी बजारमा सस्तो मुल्यमा आफ्नो श्रम बेच्न बाध्य छन् । बैदेशिक रोजगारीको यस्तो विकराल अवस्थाको नियन्त्रण गर्ने सरकारी निकायको अभाव देखिन्छ भने भएका नियामक निकायहरुले पनि काम गर्न सकेका छैनन ।

खाडी मुलुकमा नेपालीहरु कम पारिश्रमिक पाउने तर बढि परिश्रम गर्नुपर्ने सडक, घर निमार्णमा मजदुरका रुपमा काम गर्छन । हुन त केही नेपालीहरु दक्ष कामदारका रुपमा राम्रो परिश्रमिक र सुविधा भएको ठाउँमा पनि भेटिन्छन । आफ्नै पेशा ब्यवसायमा लागेका पनि छन् । समस्या एउटा काममा भनेर लगिन्छ अनि पुगेपछि अन्तै पठाइन्छ । खाडी मुलुकमा नेपालीहरुलाई कसरी चिनिन्छ भन्ने पनि छ । हामी वीर गोर्खालीको देश, सगरमाथाको र गौतम बुद्धको देश भनेर गर्व गछौँ तर त्यो भन्दा अत्यन्तै फरक हुन्छ काम गर्ने ठाउँमा । नेपालीहरुलाई सोझो र इमानदारीतामा केही राम्रो रुपमा हेरिन्छ तर नेपालीहरु जसरी तल्लो स्तरमा र कम दक्षता हुने ठाउँमा काम गर्छन त्यसकै आधारमा निमुखा प्राणी र दुनीयाँकै गरिव देशका मान्छे भनेर हेपिन्छन । कतारकै कुरा गर्ने हो भने त्यहाँ नेपाली र बंगाली भनेर अपहेलित शब्द प्रयोग गर्ने गरेको धेरैको बुझाई छ ।

नेपालीहरु बिदेशमा हेपिनुको मुख्य कारण नेपालले बैदेशिक रोजगार सम्बन्धी स्पष्ट मापदण्ड अनुसार कामदार पठाउन नसक्नु हो । योग्यता र दक्षता अनुसार कामदारलाई बिदेश पठाउन नसक्नु हो । बिदेश स्थित नेपाली दुतावासबाट पनि नेपालीहरुको समस्याका बारेमा प्रयाप्त चासो पुग्न नसक्नु हो । बिदेशी मुलुकहरुसंग अब्यबहारिक श्रम सम्झौता हुनु र समयमा नविकरण नहुनु अर्को समस्याका रुपमा छ । आवश्यक संसोधन गर्नेतर्फ पनि सरोकारवाला निकाय मौन देखिन्छन् । नेपाली कामदारका हकहितमा काम गर्नुपर्ने सरकारी निकायको फितलो उपस्थितिले झन् ठुलो समस्या उब्जाएको छ । त्यतीमात्र हैन बैदेशिक रोजगारीका कारण घर ब्यवहारबाट टाढिएका हजारौँ नेपालीहरुको गृहस्थी पनि ध्वस्त भएका छन् । रोजगारीका कारण टाढिएका परिवारहरु टुक्रिरहेका छन् । एक्लीनुको बाध्यता र पिडाले सल्केको आगोले विकराल रुप लिँदै छ । यसैका कारण समाजमा बलात्कार, योनजन्य अपराध, सम्बन्ध विच्छेद र हत्याका घटनाहरु बढिरहेको बिभिन्न अध्ययनले देखाएका छन । पराईको भुमीमा पिडामाथी पिडाको भारी बोकेर जिवन बिताउन बाध्य छन् खाडी मुलुकमा काम गर्ने अदक्ष नेपाली कामदारहरु ।

Add a Comment

Your email address will not be published. Required fields are marked *