चतुर बामदेव : रामवीरलाई ढाल बनाएर बन्लान त सांसद ?

रोशन पोखरेल, काठमाडौं । प्रतिनिधिसभाको चुनावमा बर्दिया १ बाट पराजित बामदेव गौतम जसरी पनि सांसद बन्न लागि परेको धेरै भइसकेको थियो । गौतम सुरुमा डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर सांसद बन्ने तरखरमा थिए तर डोल्पाका युवाहरुलाई यो कुरा चित्त बुझेन र विरोध प्रदर्शन गरेपछि उनी पछि हटे । डोल्पाबाट चुनाव लड्ने प्रयास विफल भएपछि नेता गौतमको ध्यान दैलेख र बाँकेतर्फ मोडियो । तर, त्यहाँ पनि स्थानीय नेता कार्यकर्ताले मानेनन् । अन्त्यमा गौतमले काठमाडौं ७ बाट विजयी भएका रामवीर मानन्धरलाई फकाउन सफल भए । मानन्धरले राजीनामा दिएपछि काठमाडौं ७ मा अब उपनिर्वाचन हुने छ । उपनिर्वाचनमा उठेर सांसद बन्ने दाउमा छन् गौतम ।

पाँच वर्षका लागि जितेका नेतालाई हटाएर हारेका गौतमलाई सांसद बनाउन खोज्नु जनमतको अपमान भएको भन्दै आलोचना सुरु भैसकेको छ । शीर्ष नेताहरुले पनि नेता गौतमलाई फकाउने प्रयास नगरेका होइनन् । तर, नेता गौतमले जिद्दी नछाडेपछि मानन्धरलाई फकाउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अघि सरेका थिए । अन्त्यमा सांसद मानन्धरले पार्टीले जे भन्छ, त्यो मान्छु भन्दै आफ्नो ठाउँ छाडे ।

रामवीरले भनेका थिए, अब ५ वर्षका लागि भोट दिनुहोस् जनताका लागि काम गर्छु । उनले मागे अनुसार नै जनताले मत त दिए । तर, रामवीरले जनताका बीचमा गरेका बाचा पूरा नगरि भागे । बामदेवलाई अगाडी लाएर हिडेका रामवीरले जनतालाई के जवाफ देलान् । ‘तपाईहरुको बीचमा गरेको बाचा पूरा गर्न सकिन’ भन्लान् कि लाचारी नै प्रकट गर्लान् !

लोकतान्त्रिक गठबन्धनसँगै अरु चार दलले पाएको मतभन्दा बढि मत ल्याएर विजयी भएको १० महिनामै जनताको जनादेशबाट पन्छिने निर्णयमा पुगे रामवीर । उनी पार्टीको निर्देशन पालना गर्न जनताको अभिमतलाई लत्याउन तयार भए । के काठमाडौं क्षेत्र नं ७ का जनताले रामवीरलाई जिताउनु गलत थियो ? यदि बाचा पूरा नगर्दै छाड्नु थियो भने चुनावका बेला उनले किन बाँडे प्रचारका खोस्टा नारा ? किन गरे जथाभाबी बाचा ? अब काठमाडौं क्षेत्र नम्बर ७ का जनताले अयोग्य नेता छानिएछ भनेर पछुताउने कि, सच्याउने मौका पाइयो भनेर खुशी हुने ?

चुनाव जित्न गौतमलाई गाह्रो
नेता गौतमले रामवीरलाई फकाउन सफल त भए तर काठमाडौं ७ का मतदातालाई रिझाउन त्यति सजिलो छैन । चुनाव हारेका नेता जसरी पनि सांसद हुन खोज्यो भनेर पार्टी नेता कार्यकर्ताले नै आलोचना गरिरहेका छन् । स्वभाविक ढंगबाट पद रिक्त भएर उपनिर्वाचन भएको भए मतदाता पनि उत्साह हुन्थे । तर, नेता गौतम आफू जसरी पनि सांसद हुने चाहनामा यस्तो खेल हुन पुगेको आम जनताले बुझेका छन् । अर्थात नेता गौतमप्रति नेकपाकै कार्यकर्ता तथा मतदाता असन्तुष्ट छन् । यसकारण चुनाव जित्न उनलाई अप्ठ्यारो पर्ने देखिन्छ ।

त्यसमाथि मानन्धर नेवार समुदायको उम्मेदवार हुनु तथा कांग्रेसको मत राप्रपालाई जानुले पनि विजयश्रीको बाटो लिन सफल भएका थिए । तर अहिले पहिलेको जस्तो अवस्था छैन । नेकपा नेतृत्वको सरकारको कार्यशैली र नेता गौतमको आफ्नै छविका कारण पनि मतदाता निराश छन् । काठमाडौं ७ बाट मानन्धर दोस्रो पटक सांसदमा निर्वाचित भएका थिए । पछिल्लो चुनावमा तत्कालीन एमालेका उम्मेदवार मानन्धरले १८ हजार १ सय २ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रम थापाले १० हजार ७९ मत मात्र प्राप्त गरेका थिए । यसअघिको चुनावमा उम्मेदवार नै नउठाएको कांग्रेसले केही साना दलहरुसँग गठबन्धन गरेर वा कुनै राष्ट्रिय अनुहारलाई उम्मेदवार बनाए बामदेव गौतम हार्ने सम्भावना रहन्छ ।

को हुन् बामदेवलाई मैदान छाड्ने रामवीर ?
वि.सं. २०१९ साल चैत २८ गते काठमाडौंस्थित बालाजु बाइपासमा जन्मेका रामवीर तत्कालिन नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य थिए । अहिले पनि उनी यही ठाउँमा बस्दै आएका छन् । बुबा अष्टनारायण मानन्धर र आमा चिनीमायाबाट जन्मिएका उनका एक छोरा र दुई छोरी छन् । एसएलसीसम्म अध्ययन गरेका मानन्धर २०३६ सालमा स्कुल पढ्ने क्रममै विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् ।

अनेरास्ववियुमार्फत राजनीतिमा होमिएका उनी नेकपा एमाले काठमाडौंको जिल्ला सदस्य तथा क्षेत्रीय सदस्यका रुपमा रहेर काम गरेका थिए । उनी ४९ र ५४ सालमा भएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष भएका थिए । रामवीर राजनीतिसँगै चलचित्र क्षेत्रमा पनि आवद छन् । चलचित्र विकास बोर्डको सदस्य समेत भएर उनले काम गरेका थिए । ०४९ सालको स्थानीय निकायको चुनावबाट काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट अध्यक्षमा निर्वाचित भएर ५ वर्षको कार्यकाल पूरा गरेका उनी ०७० सालको संविधानसभामा क्षेत्र नं ७ बाट हिसिला यमीलाई पराजित गर्दै सांसद बनेका थिए । तर, यस पटक जनताले विश्वास गरेका रामवीरले पार्टीको निर्देशनका नाममा जनतालाई घात गर्न तयार भए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *