छोराको मिठो बोली र बुढ्यौलीमा देखिने ‘कचकच’

रोशन पोखरेल, काठमाडौं । सानो छँदा हामीले आमाबाबु या हजूरबुवा हजूरआमाबाट सुनेको यो कथा एक पटक स्मरण गरौं । मलाई यो कथा हजूरबुवाले सुनाउनु भएको थियो तपाईहरुले पनि सुन्नु भएकै होला । हजुरबुवा भन्नु हुन्थ्यो, एकादेशमा एउटा बालकका लागि दुई महिलाहरूबीच विवाद भएछ । दुबैले त्यस बालकलाई आफ्नो पुत्र भएको दाबी गरे । विवाद निकै चर्किएपछि उनीहरूलाई राजासमक्ष पुर्‍याइयो ।

राजासामु उनीहरूलाई उपस्थिती गराइयो तर दुबैले आ–आफ्नो अडान छाडेनन् । दुबैले आफूलाई त्यस बालककी आमा भएको अडान लिएपछि राजालाई फसाद पर्यो । अन्त्यमा, उनले आफ्ना सिपाहीलाई त्यस बालकलाई काटेर आधा आधा भाग दुबै आमालाई बाँडिदिन आदेश दिए । त्यो सुन्नासाथ ती दुईमध्ये एउटी महिलाले आत्तिँदै बिन्ती गरिन्, ‘महाराज यो बालक मेरो होइन । यसको हत्या नगरी उसकी आमाको जिम्मा लगाइदिबक्सियोस् । झुटो दाबी गरेकोमा म सजाय भोग्न तयार छु ।’ आँखाबाट आँसु झार्दै बिन्ती गरिरहेकी ती महिलातिर हेरेर राजाले तिनैलाई बालककी वास्तविक आमा भएको निर्णय गर्दै बालक जिम्मा लगाए र अर्कीलाई सजाय सुनाए ।

यो कथाबाट समेत हामी समजै बुझ्न सक्छौ कि आफूले जस्तोसुकै दु:ख कष्ट सहेर पनि सन्तानको सुखका लागि जीवन अर्पण गर्छिन् आमा । म सम्झन पुग्छु एउटी आमालाई, उनी भौतिक रूपमा सम्पन्न छिन् । उनलाई कुनै दु:ख छैन, कोठामै बसी बसी आफ्ना आवश्यकता पुरा गरेकी छन् । मिठो खाने, राम्रो लाउनेदेखि आवश्यक औषधी उपचार, मनोरञ्जन सबै पाएकी छन् । उनी आफ्नो भौतिक सुख सुविधाका आधारमा आफू सुखी भएको देखाउन खोज्छिन्, तर उनको प्रत्येक मुस्कानको अन्त्यमा एउटा गहिरो पीडा देख्छु म ।

म उनको बुढ्यौलीले भित्र पसेका आँखामा अदृश्य अभाव भरिएको पाउँछु, अनि हरेक बिहानदेखि साँझसम्मका उनका आशा र निराशाका रेखाहरूको सहजै मापन गर्छु । उनलाई रातभर छटपटी हुने गर्छ तर त्यो कुनै औषधीले निको हुँदैन । किनकि उनको छटपटी छोराको मिठो बोलीमा हुन्छ । उनी छोराले ‘आमा, तिमीलाई के भयो ? अहिले कस्तो छ ? राति निद्रा पर्‍यो कि परेन ?’ जस्ता प्रश्न सोधिदिए हुन्थ्यो जस्तो लाग्छ ।

सायद, उनी नाति नातिनी उनको कोठामा पसिदिए मात्र फुरुङ्ग हुने थिइन् । उनी नोकर चाकरको सेवाभन्दा बुहारीको आत्मियतामा रमाउन चाहन्छिन् । उनले बाँकी सबै पाएर पनि यस्तै केही पाएकी छैनन् । त्यसैले उनी आफूलाई सधैँ एक्ली र निरीह ठान्दै बाहिर हाँसे पनि भित्रभित्रै आँसु पिएर एउटा अनन्त यात्राको प्रतीक्षा गरिरहेकी छन् । यी आमा हामीमध्ये जसकी पनि हुन सक्छिन्, किनकि आज हामी कतै बाध्यता अनि कतै स्वार्थका कारण जननीलाई बोझ ठान्ने परम्परालाई आधुनिकताको संज्ञा दिइरहेका छौँ । हामी पुस्तान्तरका नाममा परिवारका जेठो सदस्यदेखि आफूलाई अलग्याइरहेका छौँ । हामीले आफ्नो भावी बुढ्यौली बिर्सेर आफ्ना सन्तानलाई यस्तो संस्कार दिइरहेका छौँ ।

आज हामी सन्तानले बुझ्नु आवश्यक छ कि निवृत्त जीवनमा आमा के चाहन्छिन् । आमाको अन्तरह्दयमा कुन अभाव खड्किरहेको छ ? सेतै फुलेकी अनि रोग, शोक र बुढ्यौलीले गलेकी आमा भौतिक सुखभन्दा मानसिक सुख चाहन्छिन् । हाम्रो समाजमा विद्यमान पितृसत्तात्मक सामाजिक संरचनाका कारण आमाहरूको बुढ्यौली प्राय: छोराको साथमा रहने गर्छ । पतिविहीन आमा आफूलाई नितान्त एक्लो ठान्दै सन्तानको स्नेह र सामिप्यको चाहनामा हुन्छिन् । त्यसैले रातभरको छट्पटीपश्चात् बिहान उनका आँखा छोराको पदचापतिर तानिने गर्छ ।

यही आशामा कि छोराले आफ्नो अवस्थाबारे सोध्ला, तर छोराले आफूतिर हेर्दा पनि नहेरी बाटो लाग्छ, तब उनको मन भाँचिन्छ । बाहिरबाट आएको छोरो पहिला आफ्नो कोठामा आएर सन्चो बिसन्चो सोध्ला भन्ने आशामा रहेकी आमाको मन त्यतिबेला पुन: चोइटिन्छ, जब छोरा सरासर अन्यत्रै जान्छ । यस्तै स-साना कुरामा आमाको चित्त दुख्ने गर्छ, किनकि डाक्टरको औषधीले भन्दा सन्तानको माया र स्पर्शले निको हुन्छ, आमाको रोग । सन्तानको आत्मीय बोली व्यवहार नै आमाको एकमात्र चाहना हुन्छ ।

आफूप्रतिको सन्तानको प्रेम र निष्ठालाई नै आफ्नो बलियो सहारा ठान्छिन् आमा । तर, हामी बुढ्यौलीमा देखिने उनका स्वाभाविक विशेषतालाई ‘असन्तुष्टि’ र ‘कचकच’को संज्ञा दिँदै आमाको भावनाको उपेक्षा गर्छौँ । आफ्ना पखेटाले छोपेर हुर्काएका सारा बचेरा हुर्केर गुँड छाडी गएपछि रित्तो गुँड कुरिरहेको बूढो माउजस्तै एक्लिएकी आमाका मनभरि अनेक पीडा, गुनासा अनि विचार उकुस मुकुस हुने गर्छन् ।

उनी चाहन्छिन्, सन्तानसामु तिनलाई फुकाएर मन हलुको बनाउन, तर आजका हामी एकातिर आफ्नै व्यस्तताले बाध्यतावश आमासँग टाढिएका हुन्छौँ भने अर्कातिर आफ्ना जहानबच्चाको खुसीमा मात्र आफूलाई सीमित पार्दै आमासँगको सम्बन्धलाई केवल औपचारिकतामा सीमित पार्ने गर्छौँ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *